प्रदेश २ का आठै जिल्लामा एकैसाथ खाेप शुरु गरिने

१३ माघ, सर्लाही । कोरोनाविरुद्धको खोप अभियान प्रदेश नम्बर २ मा आठै जिल्लामा एकैसाथ बुधबारदेखि शुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८०४ लाई खोप लगाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले जनाएको छ । प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रदेशका आठवटै जिल्लाबाट एकैसाथ अभियान शुरु गर्ने निर्णय गरेको जनाएको छ । अभियानमा मुख्यमन्त्री र मन्त्रीले सहभागिता जनाउने निर्णय बैठकले गरेको छ ।

पर्साको वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत, अस्थायी राजधानी जनकपुरधाममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र राजविराजमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सहभागिता जनाउँदै खोप अभियान शुभारम्भ गर्ने निर्णय बैठकले गरेको छ ।

वीरगञ्जको नारायणी अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल, राजविराजको गजेन्द्रनारायण सिंह तथा अन्य जिल्लामा जिल्ला अस्पतालबाट अभियान एकैसाथ प्रारम्भ गरिने भएको छ । मुख्यमन्त्री र मन्त्रीहरु खोप शुभारम्भ गराउने कार्यक्रममा सहभागिता जनाए पनि उनीहरुले खोप नलगाउने भएका छन् ।

निर्देशिकामा फ्रन्टलाइनमा रहेका व्यक्तिलाई खोप दिइने उल्लेख रहेकाले पहिला फ्रन्टलाइनरलाई मात्रै खोप दिइने विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर २ ले जनाएको छ । सर्लाहीका लागि चार हजार ७७२, रौतहटका लागि तीन हजार ६०९, बाराका लागि दुई हजार ३९५, पर्साका लागि चार हजार ९७१, सप्तरीका लागि तीन हजार ७५४, सिराहाका लागि तीन हजार ९३०, धनुषाका लागि नौ हजार १८२ र महोत्तरीका लागि दुई हजार १९१ डोज कोरोना खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार प्रदेशका आठै जिल्ला सदरमुकाममा रहेका जिल्ला अस्पतालबाट एकै पटक कोरोनाविरुद्धको खोपको शुभारम्भ हुनेछ ।

[sidebar name="button post"]