धेरै बोल्ने मान्छेसँग कसरी उम्किने ? यस्ता छन् तरिका

सबै मान्छे एकनासका हुँदैनन् । कोहि अक्सर बोल्दै बोल्दैनन् । कोहि सबै कुरा मन भित्रै राख्छन् । कोही आफ्नो एकदमै नजिकका मान्छेसँ मात्र बोल्ने र रमाउने हुन्छन।

अर्का थरि हुन्छन्, जो बोलेको बोल्यै गर्छन् । आफ्ना कुरा अर्को मान्छेले सुनिरहेको छ कि छैन, यिनीहरूलाई कुनै पर्वाह नै हुँदैन । उनीहरु एकोहोरो पतरपतर गरिरहन्छन् ।

अनि अझै अर्काथरी हुन्छन्, जो चाहिनेभन्दा धेरै बोल्ने मान्छेका कुरा सुन्ने श्रोता बन्न पुग्छन् । हुन त कसैको कुरा सुनिदिनु, ऊसँग नम्र व्यवहारमा प्रस्तुत हुनु एकदमै राम्रो कुरा हो । तर, आफ्नो समय बर्बाद पारेर कसैको कुरा सुनेर बसिरहने फुर्सद हामीलाई कहाँ हुन्छ र !

त्यसैले, के तपाई पनि यही समस्याबाट ग्रसित हुनुहुन्छ ? कसैको अनावश्यक कुरा सुन्दा-सुन्दा वाक्क हुनुहुन्छ ? कसैले कुरालाई लामो बनाउन थालेपछि कसरी उसलाई नम्र रुपमा पन्छाउने भन्ने सोचमा हुनुहुन्छ भने अपनाउनुहोस् यी तरिका:

सुरुमा एकछिन धैर्यतापुर्वक सुन्नुहोस् । थाहा पाउनुहोस् कि उसले के भन्न खोजिरहेको छ ?

यदि ऊ विषयवस्तु भन्दा बाहिर गएर कुरा लम्बाइरहेको छ भने बेलाबेलामा ‘मुख्य कुरा के हो ?’ भनेर सम्झाइ रहनुस् । यसका लागि सक्दो नम्र तरिकाले प्रस्तुत हुनुहोला ।

तपाईंले प्रयास गर्दा पनि यदि ऊ रोकिएन भने, नम्र तर ढुक्कसँग ‘के म तिमीलाई एकछिन यहीनेर रोक्न सक्छु ?’ भनेर सोध्नुस् । यति गर्दा धेरैले बुझ्छन् र कुरा लम्बाउन छोड्छन् ।

चलिरहेको कुरा भन्दा अर्कै विषयको प्रवेश गराइदिनुस् । यसले गर्दा उसले बुझ्ने छ कि यसलाई मेरो कुरा मन परिरहेको छैन भनेर ।

तपाईंसँग पर्याप्त समय छैन भनेर बेलाबेलामा भनि रहनुस् । यसले गर्दा कुरा गर्ने मान्छेको दिमागमा असर परिरहन्छ र कुरा छोटिने सम्भावना रहन्छ ।

सकभर सुरुमै समय सीमा तोक्ता सबैभन्दा उत्तम हुन्छ । ‘मलाई यति बजेदेखि यति बजेसम्म समय मिल्छ, त्यसपछि मेरो काम छ’ भनेर सुरुमै स्पष्ट पार्न सकियो भने कुरा प्रभावकारी हुनुका साथै लम्बिने डर पनि रहँदैन ।

यति सब गरेर पनि कुरा लम्बिरह्यो र बोल्ने मान्छे रोकिएन भने, तपाईलाई उसको कुराप्रति फिटिक्कै रूचि छैन भनेर स्पष्ट रुपमा भनिदिनुस् । यसको लागि तपाईले बोल्न पनि सक्नुहुन्छ, होइन भने अझ तपाईको बडी ल्याङग्वेज पनि प्रयोग गर्न सक्नुहुन्छ ।

कुरालाई बीचमै छोडेर हिंडीदिनुहोस । यो एकदमै अभद्र व्यवहार हो, तर तपाईंको व्यस्तता भन्दा महत्वपूर्ण होइन । ढुक्कसँग तपाई त्यहाँबाट हिड्नुको बिकल्प छैन ।

[sidebar name="button post"]