११ माघ, पाँचथर । जिल्लास्थित सरोकारवालाले निर्वाचन आयोगद्वारा तय भएको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमको समय लम्ब्याउन माग गरेका छन् । आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालयले यहाँका स्थानीय तहमा यही माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम तय गरेको छ ।
उक्त अवधि लम्ब्याएर माघ मसान्तसम्म पु¥याउन राजनीतिक दल तथा नागरिक क्षेत्रका अगुवाले माग गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयले फिदिममा आयोजना गरेको अन्तक्र्रियाका सहभागी सरोकारवालाले छोटो समयमा सबै मतदाताले आफ्नो विवरण अद्यावधिक गर्न नसक्ने भन्दै समय लम्ब्याउन माग गरेका हुन् । सरोकारवालाले मतदान गर्ने उमेर पूरा भएका तर वैदेशिक रोजगारीमा रहेका कारण मतदाता नामावलीमा नाम समावेश गर्न नपाएका मतदाताहरुलाई समेट्ने प्रवन्ध गर्न आग्रह गरे ।
जिल्लाका केही वडामा मतदानस्थल थप्नुपर्ने आवश्यकता रहेको बताउँदै सरोकारवालाले निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपरे सोसमेत गर्न माग गरे । अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सरोकारवालाको मागलाई आयोगमा पठाइने र मतदाताले सहजरुपमा मतदान गर्ने व्यवस्था गर्न पहल गरिने बताउनुभयो ।
जिल्लामा हाल कूल एक लाख ३२ हजार ७९८ जना मतदाता रहेका छन् । तीमध्ये महिला ६३ हजार ५८६ जना र पुरुष ६९ हजार २१२ छन् । प्रतिनिधिसभा सदस्यको एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १०१ मतदानस्थल तथा १७० मतदान केन्द्र छन् । जिल्लामा हाल सबैभन्दा बढी फिदिम मावि खेल मैदान मतदानस्थलमा चार वटा मतदान केन्द्र रहेका छन् ।
मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि स्थानीय तहका कर्मचारीलाई सहायक नाम दर्ता अधिकारी नियुक्त गरी कार्य सम्पादन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने क्रममा सबै मतदातालाई नामावलीमा आफ्नो नाम तथा अन्य विवरण हेर्ने एवं अद्यावधिक गर्नका लागि सहज पहुँज प्रदान गरिने कार्यालयले जनाएको छ ।सहायक नाम दर्ता अधिकारीलाई आवश्यक सामग्री, मतदाता नामावली तथा अभिमुखीकरण कार्यक्रम निर्वाचन कार्यालयले प्रदान गर्ने कार्यालयका निमित्त प्रमुख सरोज मेहताले बताउनुभयो ।











