१० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिक रूपमा समाधान गरिने बताएका छन् । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा प्रधानमन्त्रीले विगतमा जस्तो धोका नदिइने बताएका हुन् ।
प्रेस सल्लाहकार सूर्य थापाले छलफलमा प्रधानमन्त्रीले पूर्वजनमुक्ति सेनाका प्रतिनिधिहरूसँग उनीहरूका समस्या राजनीतिक रूपमा समाधान गर्ने र पहिलाजस्तो धोका नदिने प्रतिबद्धता जनाएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जनयुद्धमा जनमुक्ति सेनाको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताए । ुपहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग गर्यो ।
यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ओलीले भने ।भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् ।











