तेस्रो जनआन्दोलनको खाँचो : डा. भट्टराई

९ माघ, बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।

व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले दावी गरे । संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले औंल्याए ।

संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद विघटन गरेको भट्टराईको विश्लेषण छ । असंवैधानिक तरिकाले गरिएको संसद विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने पनि बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्नेमा भट्टराईले बताए । संसद विघटनको घटना हिमशिखरको टुप्पो देखिएको अवस्था मात्र हो भन्दै भट्टराईले अदालतबाट यो नसच्चिए हिम शिखर फुटेजस्तै जोखिम हुने औंल्याए ।

ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने भट्टराईको धारणा छ । पत्रकारको जिज्ञासामा भट्टराईले संसद पुनस्थापनापछि आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारे ।

[sidebar name="button post"]