Ad #144479

६ माघ, काठमाडौं । प्रदेश १ प्रचण्ड माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । बुधबारबाट सुरु हुने हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको हो । नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ ।

प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो । प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठक भने स्थगित भएको छ । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो ।

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले समय अभावका कारण मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको बताए । उनले आफू उदयपुरमा रहेको बताउँदै समयमा नपुग्ने भएपछि बैठक स्थगित गरिएको जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता गराएकामध्ये पाँचजना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । नेकपा भित्रैको एउटा समूह कतै नखुलेपछि ओली समूहको बैठक रोकिएको हो । प्रचण्ड माधव समूहका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ले बहुमत सदस्यको उपस्थितिमा आफ्नो समूहको बैठक बस्ने दाबी गरे ।

बुधबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीका अनुसार कांग्रेसले मंगलबार ११ बजे संसदीय दलको बैठक बोलाइएको बताए । उनका अनुसार बैठक प्रदेशसभा सचिवालय भवनमा बस्नेछ ।