एजेन्सी । जाडो मौसममा तपाईंको पनि हातखुट्टाका औंला रातो हुने, सुन्निने, चिलाउने, पोल्ने वा घाउ भएर फुट्ने गर्छ ? जाडो याममा यो समस्याले कतिपय मानिसलाई सताउने गर्छ ।
कसैकसैलाई त जाडो मौसममा हातखुट्टाका औंलाहरुमा मात्रै होइन्, कानको लोती र नाकको टुप्पोमा समेत यो समस्या देखापर्छ l उनीहरुको नाकको टुप्पो वा कानको लोती चिलाउने, रातो हुने, सुन्निने र घाउ हुनेसमेत गर्छ ।
यस्तो समस्यालाई चिकित्सकीय भाषामा पर्नियो वा चिलब्लेन भनिन्छ । विशेष गरेर महिलाहरुमा यो समस्या धेरै देखिे गरेको छ । कारण हो धेरै पानीसँग खेल्नु वा चल्नुपर्ने स्थिति ।
लक्षणहरु:
चिसो लागेको भागमा छालाको रङ विस्तारै परिवर्तन हुँदै जान्छ ।
छालाको रङ गाढा निलो र रातो हुने गर्छ ।
पोल्ने, चिलाउने, सुनिने र दुख्ने गर्छ ।
चिलाएको ठाउँमा कन्याउँदा घाउसमेत हुन सक्छ ।
बच्ने उपाय:
चिसोबाट जोगिनु नै यो समस्याबाट बच्ने मुख्य उपाय हो, जुन यसरी गर्न सकिन्छ:
जाडो याममा हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाउने।
न्यानो टोपी, मोजा, पञ्जा लगाएर मात्रै घर बाहिर निस्कने ।
शरीरको खुला भागलाई पनि न्यानो पारेर राख्ने ।
जोडो मौसममा चिसो पानी सकभर नखेलाउने ।
भाडा माझ्दा, लुगा धुँदा र घरायसी काम गर्दा सकेसम्म मन तातो पानीको प्रयोग गर्ने ।
बिहान बेलुका मनतातो पानीमा करिब १५ मिनेट हातखुट्टा डुबाउने ।
साँझ बिहान आगो वा हिटर बालेर ताप्ने ।
हात खुट्टाका औंलाहरु घाममा सेकाउने ।











