२९ पुष, काठमाडौं । सबैलाई थाहा थियो–प्रधानमन्त्री केपी ओली भारतीय संस्थापन पक्षले नगनेको भन्दै प्रधानमन्त्री भइसकेपछि पनि चीनसँग लहसिन खोजेका थिए । अघिल्लो कार्यकालमा त उनको चीनसँग विषेश सम्बन्ध नै रह्यो । तर दोस्रो इनिङमा भने ओली झस्किन पुगे । जब चीनले ओलीको ठाउँमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने तानाबुना बुन्यो र त्यसको छनक उनले पाए , त्यसपछि त ओली यूटर्न भए ।
चीनले आफूलाई प्रयोग मात्र गर्न खोजेको बुझाई ओलीको भएपछि भने फेरि उनको झुकाव भारततिरै ढल्किएकाे छ । यसका लागि ओलीले भारतीय गुप्चर संस्था रअ प्रमुख सामन्तकुमार गोयलको सहयोग लिए । गोयललाई नेपाल बोलाएर उनले मध्यरातमा आफ्नो सरकारी निवासमा घण्टौं छलफल गरे । अनि उनको सम्बन्ध संस्थापन पक्षसँग बलियो बनाउने अभियानको थालनी भयो ।
त्यसपछि त ओलीले यति बलियो अवस्थामा रहेको अनुभूति गरे की संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिदिए । लोकतन्त्रको चीर हरण भएको दुनियाँले भन्दैछ । तर लोकतन्त्रको ठेकेदारको रुपमा आफूलाई दाबी गर्ने भारतीय सरकार भने यो मुद्धामा मौन छ । कारण अहिले ओलीलाई चिढ्याउने पक्षमा भारतीय संस्थापन पक्ष रहेन ।
त्यसैको बलमा ओलीले भारतीय सञ्चारमाध्यममार्फत आफ्नो राष्ट्रवादी छविलाई फेरि पुनर्उन्थान गर्न खोजे । त्यसका लागि उनको छनोट यस्तो सञ्चारमाध्यम बन्यो जसलाई समुचा भारतमा गोदी मिडिया अर्थात मोदीको काखे मिडिया भनेर चिनिने जी न्यूज च्यालन बन्यो । यसका लागि ओलीले तिनै गोयलसँग सम्पर्क गराउने सूत्रको प्रयोग गरे ।
जी न्यूजको दुईवटा च्यानललाई ओलीले हिन्दी र अंग्रेजी भाषामा अन्तर्वार्ता दिए । अन्तर्वार्ता सुुन्दा लाग्थ्यो ओली त फेरि पनि राष्ट्रवादी धार फर्काउने अभियानमा जुुटिसकेकाछन् । सोझा जनता फेरिपनि भ्रमित हुने भए । तर ओलीको राष्ट्रवादको धोती त्यतिबेला खुस्कियो जब जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले हिजो राति एउटा यस्तो सनसनीपूर्ण समाचार प्रशारण गरे , जुन नेपाल र नेपालीको शीर छेदन गर्ने थियो ।
चौधरीले ओलीको अन्तर्वार्ता लिएको भोलिपल्टै सगरमाथाको बेसक्याम्पमा पुगेर अर्काे रिपोर्टिङ गरे , जसमा उनले माउण्ट एभरेष्टमा भारतको दाबी रह्यो । उनले सगरमाथाको पहिलोपटक म्यापिङ गर्ने राधाकृष्ण सिकन्दरकै नाममा अब नामाकरण गर्नुपर्ने तर्क गरेका छन् । साथै, यसका लागि आफूले अब अभियानकै थालनी गर्ने उद्घोष गरे । प्रधानमन्त्री ओलीको रोजाइमा परेका चौधरीले यस्तो दाबी गर्दा नेपाल सरकार मौन छ ।












