Ad #144479

एजेन्सी। प्राय सबै उमेर समुहका मानिसहरुलाई आँखाको परेला माथि वा तल आउने रातो दाना नै आनो हो। यसले मानिसलाई ठुलै पिडा दिने गर्छ ।

बुझ्नेगरी भन्नुपर्दा, परेलाको जरो वा परेलाको तेल ग्रन्थीमा पिप जम्नु नै आनो आउनु हो। बुढापाकाले भनेजस्तो ‘झुट बोल्दा आनो आउँछ’ भन्ने कुरा चाहिँ गलत हो।

यो समस्या हेर्दा सानो देखिएपनि यसले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याइदिन्छ र अन्ततोगत्वा आँखालाई हानि पुर्याउँछ । आनो बढ्दै गएपछि आँखा पनि टालिने गर्छ ।

फोहोर हातले आँखा चलाउँदा वा माड्दा, आँखा धेरै मिचिरहने बानीले, आनो भएको व्यक्तिले प्रयोग गरेको रुमाल वा तौलिया अरूले प्रयोग गर्दा, फोहर पानीले आँखा धुँदा यो समस्या उत्पन्न हुने गर्छ। त्यसैगरी परेलामा चाया पर्ने समस्या छ भने पनि आनो हुने गर्छ।

कारण
आँखाको परेलाका डिल या छेउछाउमा पसिना बन्ने ग्रन्थि हुन्छ। यो ग्रन्थिमा ब्याक्टेरियाको संक्रमण भएमा आनो आउँछ। छालाबाहिर रहने ब्याक्टेरिया जब छालाभित्र प्रवेश गर्छ, तब आँखामा आनो निस्कन्छ। आँखाको माथिल्लो या तल्लो दुवै भागमा आनो आउन सक्छ।

लक्षण
आँखा चिलाइरहने र माड्न मन लाग्ने
आँखाको परेला भारी हुने
आँखाको परेला सुन्निने
खटिरा आउने र रातो हुने
आँखाबाट आँसु बगिरहने वा चिप्रा आउने
घाम अथवा प्रकासमा हेर्न अप्ठ्यारो हुने

यसको उपचार
आनोको उपचार घरमै गर्न सकिन्छ। आनो निस्किएको ठाउँमा तातो पानीले सेक्दा राम्रो गर्छ। तातोपानीमा रुमाल डुबाएर राम्ररी निचोर्ने र ५–१० मिनेटको अन्तरमा दिनको ३–४ पटक सेक्दा दुखाइ कम हुन्छ। पानीले सेक्दा सुन्निएको ठाउँबाट भित्रको पानी या पिप निकाल्न मद्दत मिल्छ। आँखावरपर सरसफाइमा ध्यान दिनुपर्छ।