काठमाडौं । कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुनः पुष्टि भएको हो ।
५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।
तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोले बताएको छ । उनको पुनः पाटन अस्पतालमै उपचार भइरहेको छ ।
यससँगै नेपालमा निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।