नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
युएईमा राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४१, रोबिन उथप्पाले ३२ रन बनाए ।
यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे । दिल्लीका लागि एन्रीच नोट्र्जे र टुसार देश पाण्डेले २÷२ विकेट लिए । यस्तै कागिसो रबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय पारी खेले । धवनले ५७ रन बनाए । श्रेयस आयरले ५३ रन जोडे ।
यस्तै मार्कुस स्टोनिसले १८ रन जोड्दा एलेक्स केरीले १४ रन बनाए । पृथ्वी श शुन्य रनमा आउट भए । दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन । सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १÷१ विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो । पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको भने यो पाँचौ हार हो । राजस्थानले ८ खेलमा ६ अंक जोडेको छ ।











