कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार साविक च्याम्पियन फ्रान्स र अफ्रिकी राष्ट्र मोरक्को फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्।
मध्यराति १२:४५ मा हुने खेलमा दुवै देश विश्वकपको सेमिफाइनलमा एकअर्कालाई हराउने उद्देश्यसहित मैदानमा उत्रने छन्। विजेता टिमले अर्जेन्टिनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
मोरक्कोले भने विश्वकपमा क्वाटरफाइनल पुगेबाटै नयाँ इतिहास बनाउन सुरु गरिसकेको छ। मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्दै नयाँ इतिहास बनाएको छ। अब मोरक्को फाइनल पुगेर अर्को कीर्तिमान बनाउन चाहन्छ।
मोरक्को जारी विश्वकपमा बलियो टिमका रूपमा उदाएको छ। यस विश्वकपमा कुनै पनि टोलीले माेरक्काेविरुद्ध गोल गर्न सकेको छैन। मोरक्कोले विश्वकपमा ५ गोल गर्दा एक गोल खाएको थियो। त्यो पनि विपक्षी टिमबाट नभई आत्मघाती गोलका रूपमा रहेको थियो।
सेन्टर फरवार्ड वालिद चेडिरा प्रतिबन्धका कारण फ्रान्सविरुद्धको महत्त्वपूर्ण सेमिफाइनलमा उपलब्ध हुने छैनन्। चोटका कारण डिफेन्डर नाएफ अगुएर्ड र रोमन सेइसले खेल्ने सम्भावना न्युन रहेको छ।
मोरक्को अपराजित रहँदै सेमिफाइनलमा पुग्न सफल टिम हो। मोरक्कोले समूह चरणमा क्रोएसियासँग गोलरहित बराबरी खेल्दा बेल्जियम र क्यानडालाई हराउँदै प्रि-क्वाटरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा तथा क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरेर अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो।
मोरक्कोले आफ्नो विश्वकप अपराजित दौडलाई ६ खेलसम्म पुर्याउँदै नयाँ कीर्तिमान समेत बनाएको छ।
यी दुई टोली हालसम्म ७ पटक भिडेका छन्। विश्वकपमा भने यी टिमबीच पहिलो प्रतिस्पर्धा हो।
यी दुई टोलीले पछिल्लोपटक सन् २००७ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा खेल २-२ गोलको बराबरी भएको थियो। ७ मध्ये फ्रान्सले ५ खेलमा जित्दा दुई खेल बराबरी भएका छन्।









