Ad #144479

१२ फाल्गुन, काठमाण्डौ। आईसीसी पुरुष टी–२० विश्वकप छनौटअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले पराजित गरेको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। ओमानका लागि जिशन मक्सूदले २१, आयान खानले १६, नसीम खुशीले १५ र कालिमुल्लाहले १४ रन जोडेका थिए।

‌ओमानलाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा कमल ऐरी, आरिफ शेख, अविनाश बोहोरा र सागर ढकालले एक–एक विकेट लिए।

८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले १६ ओभर २ बलमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालका कुशल भुर्तेलले ५५, आरिफ शेखले २१ र आशिफ शेखले १३ रन बनाए।

सेमिफाइनलमा पराजित भएका नेपाल र ओमान यसैवर्ष अष्ट्रेलियामा हुने टी–२० वश्वकप क्रिकेटका लागि छनौट हुन असफल भएका थिए।

नेपाललाई पराजित गरेको युएई र ओमानलाई पराजित गरेको आयरल्याण्डले टी–२० विश्वकप छनौटको फाइनलमा स्थान बनाउँदै आगामी अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म हुने टी–२० विश्वकपमा छनौट भएका छन्।