मैत्रीपूर्ण महिला फुटबल : बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी

२४ भदौ, काठमाण्डौ। पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन् ।

खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।

खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् । प्रीतिले मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा २-० को अग्रता बनायो ।

बंगलादेशकि तोहुरा खातुनले सान्त्वना गोल गरिन । खातुनले ८१ मिनेटमा गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुदै गोल भएको थियो ।

नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । दोस्रो खेल शुक्रबार हुनेछ