युरो कप फुटबलमा इङ्ल्यान्ड पहिलोपटक फाइनल पुगेको छ। इङ्ल्यान्डले बिहीबार बिहान सम्पन्न खेलमा डेनमार्कलाई २-१ गोलले हरायो।
एक सय ४ औँ मिनेटमा प्राप्त पेनाल्टीमा केनको प्रहार डेनमार्कका गोलकिपरले रोकेपनि उनले रिबाउन्डमा गोल गरेका थिए। रहिम स्टर्लिङलाई डीबक्सभित्र फल भएपछि इङ्ल्यान्डले पेनाल्टी प्रहारको अवसर पाएको थियो।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। ३० औँ मिनेटमा मिक्केल डाम्सगार्डको शानदार फ्रिकिक गोलमा डेनमार्कले अग्रता लिएको थियो। तर ९ मिनेट लगत्तै इङ्ल्यान्ड बराबरीमा पुगेको थियो।
इङ्ल्यान्ड मुख्य प्रतियोगितामा ५५ वर्षपछि फाइनल पुगेको हो। इङ्ल्यान्डले उपाधिका लागि इटालीसँग जुलाई १२ तारिखमा खेल्ने छ। इटालीले सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पराजित गरेको हो।
इङ्ल्यान्डका केनले जारी प्रतियोगितामा ४ गोल गरेका छन्। यसअघि क्वाटरफाइनलमा २ गोल गरेका थिए।











