विश्वकप छनोट : नेपालले आज ताइपेईविरुद्ध जितको लक्ष्यसहित मैदान उत्रँदै

काठमाडाैँ । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत आज नेपाल र चाइनिज ताइपेई भिड्दै छन् । नेपाली समय अनुसार राति पौने १० बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा ताइपेईविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदान उत्रँदैछ ।

नेपालले घरेलु भूमिमा खेल्नुपर्ने खेल कुवेतमा खेल्न लागेको हो ।

नेपाल फिफा वरीयताको १७१ औँ स्थान छ । यस्तै, चाइनिज ताइपेई नेपालभन्दा ३० स्थानमाथि १४१औँ स्थानमा छ । ५ खेलमा ४ हार र १ जित निकालेको नेपाल ३ अंकका साथ चौथो स्थानमा रहँदा जितविहीन चाइनिज ताइपेई अन्तिम स्थानमा छ ।

नेपालले कुवेतविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल भने दशरथ रंगशाला निमार्ण सम्पन्न नभएका कारण भुटानमा खेलेको थियो ।

नेपालले बाँकी ३ खेलमध्ये जित हात पार्न सहज हुने टिम भनेको यही चाइनिज ताइपेई नै हो । फिफा वरियतामा आफूभन्दा ३० स्थान माथि रहेको चाइनिज ताइपेईविरुद्ध नेपालले हालसम्म २ वटा मात्र खेल खेलेको छ । जसमा १ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको थियो ।