९ वैशाख, काठमाण्डौ। त्रिकोणात्मक टी-२० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले पाहुना टोली मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ ।
टी-२० मा नेपालले मलेसियालाई दिएको यो हालसम्मकै ठूलो लक्ष्य हो । टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो ।
उसका लागि करण केसीले आक्रामक पारी खेले । उनले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो उच्च स्कोर हो ।यसअघि यो प्रारूपमा उनको उच्च ब्याटिङ अविजित ४० रन हो ।
त्यस्तै, आज आशिफ शेखले ३२ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाए । उनलाई अनवर रहमानले आउट गरे ।
कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा चार छक्का र एक चौका हिकाउँदै ४१ रनको योगदान दिए । कुशल भुर्तेल आज १६ रनमा आउट भए ।
कुशलले यसअघि लगातार तीन अर्धशतक बनाएका थिए । त्यस्तै, आज दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले अविजित १९ रन बनाए ।बलिङमा सैयद अजीज, अनवर रहमान र फित्री सामले सर्वाधिक दुईरदुई विकेट लिए ।









