Ad #144479

१९ फागुन, भरतपुर। माडीको बरुवामा सञ्चालित तेह्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले उचालेको छ । माडी नगर क्षेत्रका माध्यमिक तहका १० विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा १३ स्वर्णसहित जनकल्याण मावि कल्याणपुर पहिलो भएको हो ।

प्रतियोगितामा सात स्वर्णसहित माडी माध्यमिक विद्यालय वसन्तपुर दोस्रो र पाँच स्वर्णसहित सोमेश्वर माध्यमिक विद्यालय बरुवा तेस्रो भएका छन् ।

प्रतियोगितामा पहिलो हुन सफल जनकल्याणले १३ स्वर्ण, चार रजत र सात कांस्य, दोस्रो भएको माडी माविले सात स्वर्ण, १० रजत र सात कांस्य तथा तेस्रो भएको सोमेश्वर माविले पाँच स्वर्ण, ११ रजत र पाँच कांस्य पदक जितेका हुन् ।

त्यसैगरी प्रतियोगितामा दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले दुई स्वर्ण र एक रजत तथा कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगरले एक स्वर्ण, दुई रजत र चार कांस्य जितेका छन् । खैरहनी मावि खैरहनी, जनजीवन मावि खरकट्टा र पिसल्याण्ड इङ्लिस बोर्डिङ स्कूल वसन्तपुर भने एक÷एक कांस्य पदकमै फर्किएका छन् ।

प्रतियोगितामा १८ वर्षसम्मका विद्यार्थीले भलिबल, कबड्डी, मार्सल आर्ट्स र एथलेटिक्सका विभिन्न खेलमा सहभागिता जनाएका थिए ।