७ माघ, काठमाडौं । नेपालले विश्वकप छनोटका तीन खेल खेल्ने भएको छ । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा दर्शकसहित खेल्ने भएको हो ।
गत मार्च-अप्रिलका लागि तय भएका खेलहरू कोरोना भाइरसका कारण स्थगित भएका थिए। नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ।
नेपालले ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्ने कार्यक्रम छ। यस्तै जोडर्नसँग जेठ १२ मा खेल्ने तय छ।तीनै खेलको मिति पक्का भए पनि कोरोनाका कारण नेपालमा हुने वा नहुने पक्का भएको थिएन। अब अखिल नेपाल फुटबल संघ ९एन्फा० ले तीनै खेल नेपालमै खेलाउने निर्णय गरेको छ।
ती तीनै खेलमा दर्शकलाई प्रवेश दिने एन्फाले जनाएको छ। मंगलबार भएको एन्फाको बार्षिक साधारणसभाले बार्षिक कार्यक्रम पास गर्ने क्रममा विश्वकप छनोटका खेलहरु नेपालमा गर्ने र ती खेलमा दर्शकलाई टिकट बिक्रि गरेर रकम उठाउने उल्लेख छ।
एन्फा प्रवक्ता किरण राईले साधारणसभा पछिको पत्रकारसम्मेलनमा नेपालमा हुने विश्वकप छनोटका खेलहरुमा दर्शकलाई प्रवेश दिइने बताएका थिए। छनोट खेल हेर्न आउने दर्शकलाई बिक्रि गर्ने टिकटबाट १ करोड १० लाख रुपैयाँ आम्दानी गर्ने एन्फाले मंगलबार साधारणसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेख छ।
छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।
नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।
एन्फाको मंगलबार भएको साधारणसभाले २०७७ मा १० वटा कार्यक्रम र २०७८ मा २४ कार्यक्रम गर्ने प्रस्ताव पारित गरेको छ। यो प्रतियोगिता कोरोनाले फुटबल ठप्प भएपछिको पहिलो औपचारिक प्रतियोगिता हो।












