काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको निर्वाचन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ मा उक्लने निर्णय गरेसँगै चितवन ३ मा अर्को उम्मेदवार को बन्छ भन्ने चासो बढेको छ ।
आइतबार हुने मनोनयनका लागि नेपाली कांग्रेसले चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थशास्त्री विश्व पौडेललाई टिकट दिएको छ। उनी योजना आयोगबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने भएका हुन्। चितवन १ मा कांग्रेसका अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि आकांक्षा राखे पनि उनी त्यहाँबाट आउट भएका छन्।
त्यस्तै, गठबन्धनबाट कांग्रेसकै भागमा परेको चिवतन २ मा राज्यमन्त्री उमेश श्रेष्ठलाई सभाापति शेरबहादुर देउवाले टिकट दिएका छन्।उनी देउवाका विश्वास पात्र हुन्।
त्यस्तै चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट पाएका छन् । प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा जेएन थपलिया र ‘ख’मा प्रकाश खनाल (सैलेश)ले टिकट पाएका छन् ।
एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रदेशसभा तर्फ क्षेत्रनम्बर २ को ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको छ । सिलवाल इच्छा मनकामना गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।
एमालेले चितवन क्षेत्र नम्बर ३ को उम्मेदवार भने टुंगो लगाएको छैन । क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने एकल रूपमा सिफारिसमा परेका छन् ।
तर सत्ता गठबन्धनले चितवन- ३ माओवादीकै कोटामा पार्ने सहमति गरेपछि प्रचण्डपछिको माओवादी नेताको खोजी सुरु भएको हो । चितवन ३ का लागि प्रचण्डको एकल नाम सिफारिश भएको थियो । त्यसले गर्दा पनि अर्को उम्मेदवारको खोजी हुन थालेको हो ।
स्थानीय माओवादी नेताहरूका अनुसार चितवन ३ का लागि तीन जना नेता सुर्य सुवेदी पथिक, घनश्याम दाहाल र रामचन्द्र अधिकारीको नाम चर्चामा रहेको छ । तीन जनामध्ये सुर्य सुवेदी पथिक नै उम्मेदवार हुने सम्भावना रहेको छ ।
उनी जनयुद्धकालीन नेता पनि हुन् । नारायण दाहाल राष्ट्रियसभामा आइसकेका कारण सुवेदी नै प्रभावशाली नेताको रूपमा मानिएको छ ।









