गोसाइँकुण्ड गाउँपालिकामा ज्येष्ठ नागरिकलाई कम्बल वितरण

११ पुष, गोसाइँकुण्ड। चिसोबाट सुरक्षित गराउन आफ्ना वडाका सबै ज्येष्ठ नागरिकलाई बाक्लो कम्बल वितरण गरेको छ ।

रसुवाको उत्तरीभेगमा चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत कम्बल वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार तातोका लागि कम्बल एवं स्थानीय तहबाट प्रदान गरिने स्वास्थ्य परीक्षण, औषधि वितरण, परामर्श र अपाङ्ग परिचयपत्रसमेत स्थानीय गाउँटोलमै वितरण अभियान शुरू गरिएको हो। गाउँपालिकाभित्र रहेका छवटा वडामै यस्ता किसिमका सेवा प्रदान गर्ने कार्यक्रमअनुसार दुई वडामा कार्य सम्पन्न गरिएको छ ।

वडा नं १ को थुमन क्षेत्रका ८५ र वडा नं ३ को वृद्विम तथा खाम्जिम गाउँमा ६६ ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिनुभयो ।

कम्बल वितरणको साथै २३८ जनालाई दक्ष चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराई औषधिसमेत प्रदान गरिएको छ । सात हजार जनसङ्ख्या रहेको यस गाउँपालिकाका बासिन्दालाई घरदैलोमै सबै सेवा दिन शुरु गरिएको छ ।

[sidebar name="button post"]