उहानमा नेपालका तर्फबाट सर्जिकल मास्क पठाउने व्यवसायी सम्मानित

९ मंसिर, काठमाडाैं । छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ संक्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ । प्रेमसिद्धि प्रालि काभे्रपलाञ्चोक साँगालाई आज धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

चीनको उहानमा कोरोना फैलिई समस्या भएका बेला प्रेमसिद्धि प्रालिको संयोजनमा एक लाख १० हजार सर्जिकल मास्क सहयोगस्वरुप पठाइएको थियो । दिवसका अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रालिका प्रोपाइटर सुकदेव जोशीलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष कैलाश पलाञ्चोके, घरेल तथा साना उद्योग महासंघ काभ्रेका अध्यक्ष सुवासचन्द्र श्रेष्ठलगायतले कोरोनाका कारण उद्योग व्यवसायमा प्रभाव परेकाले यथोचित सम्बोधन गर्न माग गर्नुभएको कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो । सो अवसरमा कार्यालयबाट तालीम लिई विभिन्न घरेलु सामग्री निर्माण गरेको व्यवसायीले एक दिने प्रदर्शनीसमेत गरेका थिए ।

[sidebar name="button post"]