Ad #144479

७ मंसिर, सप्तरी । सप्तरीमा ज्यानमारा भाइरसले एक जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । राजविराज नगरपालिका–२ घर भएका नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव ५२ वर्षीय जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार राती नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखामा शाखा प्रमुखका रुपमा कार्यरत स्वास्थ्यकर्मी देव कोभिड संक्रमणको उपचार गराईरहेका थिए। विराटनगरमा उपचाररत देवको १० दिन अघि कोरोना रिपोर्ट नेगेटिभ आएको परिवारका सदस्यले बताएका छन्। रिपोर्ट नेगेटिभ आएपनि कोरोनाकै कम्प्लिकेशनले गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका बरिष्ट मलेरिया इन्स्पेक्टर नारायण राउतले बताए।

राउतका अनुसार कोरोनाले फोक्सो र किडनीमा असर गरी कमजोर बनाएको तथा सो महत्वपूर्ण अंगले राम्रोसँग काम गर्न नपाएकाले देवको रिपोर्ट नेगेटिभ आएपनि सोही जटिलताका कारण देवको मृत्यु भएको हो।