गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७५÷७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आव २०७६÷७७ मा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् ।
निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार ५३५ विदेशी र एक हजार १०२ नेपालीले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् जसमा एक हजार १६७ सार्क राष्ट्रका पर्यटक छन् । भ्रमण वर्ष २०२० को शुरुआती चरणमै कोरोना भाइरसको जोखिम उच्च भएपछि पर्यटन क्षेत्रमा ठूलो असर परेको टानका प्रथम उपाअध्यक्ष चोलेन्द्र कार्कीको भनाइ थियो । सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको सङ्ख्यासमेत दोब्बरले घटेको व्यवसायीको भनाइ छ ।
आव २०७५÷७६ मा ५७ हजार २९८ ले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भएपनि गतवर्ष यसको सङ्ख्या करिब दोब्बरले घट्नका पछाडि कोरोना भाइरसको महामारी प्रमुख रहेको छ ।
यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्जले आव २०७६÷७७ मा रु साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
पू्र्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।