Ad #144479

२० पुष, काठमाडौं । काठमाडौं विश्वविद्यालय ‘केयू’मा विवादित र भ्रष्ट पदाधिकारीलाई फेरि नियुक्त नगर्न डा. गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराएका छन् । केसीले आइतबार विज्ञप्ति जारी गरी आफूसँग विगतमा भएको सम्झौता बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता र कार्यक्षमताको आधारमा पदाधिकारी नियुक्ति गर्न पनि माग गरेका हुन् ।

डा. केसीले काठमाडौं विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘हामी लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागबण्डाको अन्त्य हुनुपर्ने मागसहित संघर्षमा छौं । पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौतासमेत भएको छ,’ डा। केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

केयूमा उपकुलपति रामकण्ठ माकजुलाई लगातार तेस्रो कार्यकालका लागि नियुक्ति गर्ने तयारी भइरहेका बेला डा. केसीको पछिल्लो विज्ञप्ति सार्वजनिक भएको हो । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले नयाँ उपकुलपति चयन प्रतिस्पर्धायुक्त, सरकारका पूर्वघोषित नीति नियम र योग्यताका आधारमा तथा विश्वविद्यालयका सरोकारवालाहरुसँग समेत सल्लाह सुझाव लिएर होस् भनि माग गरेको छ ।