१७ पुष, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्व र पश्चिमको पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम शुक्रबार सामान्यतयता सफा रहने जनाएको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही स्थानका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने भएको हो । अहिले सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
तापक्रममा कमि भई चिसो रहि रहने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भू–भागका केही स्थानहरुमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
कैलाली, कञ्चनपुरलगायतका जिल्लामा कुहिरो लागेको मौसमविदले जानकारी दिएका छन्। महाशाखाका अनुसार दिउँसो यी ठाउँहरुमा कुहिरो हट्नेछ तर पारिलो घाम लाग्ने सम्भावना भने छैन । आज बिहान काठमाडाैंको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडाैंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो ।












