१६ पुस, काठमाडौं । बालुवाटारको ललिता निवास क्याम्पाभित्रको सरकारी जग्गामा मुख्य आरोपित छुट्दै गएका छन् । सो जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाललाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेकी उनी थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएकी थिइन् । ढकाल दुई लाख रुपैयाँ धरौटीमा रिहा भएकी हुन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार धरौटीमा छाड्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल्नीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
राष्ट्रसेवक कर्मचारी पदाधिकारीहरूलाई अनुचित प्रभावमा पारी ललितानिवास क्याम्पाभित्रको सरकारी, सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफू समेतको नाममा सट्टाभर्ना गरी–गराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पुर्याएकाले ढकाल्नीलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको छ ।
ढकाल नाताले ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा. शोभाकान्त ढकालकी पत्नी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा. ढकालसँग अख्तियारले ३९ करोड भन्दा बढी बिगो मागदाबी गरेको छ ।












