११ पुष, काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ-संस्थाहरुले संसद विघटनको विरोध गरेका छन् । शनिबार विभिन्न ३२ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने बताएका हुन् ।
असंवैधानिक रुपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र प्रतिपादित सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले यस्ता खालका हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
साथै संसद विघटनपछि आम नागरिक र दलहरुबीच दुरी बढ्न गई राजनीतिक अस्थिरता आउनसक्ने भन्दै संघ संस्थाले तत्काल दलहरुबीच सार्थक वार्ता गर्नुका साथै संविधानको जगमा उभिएर निकास खोज्न आग्रह गरेका छन् ।












