आज पनि पश्चिमी वायुको प्रभाव कायमै : मौसम पूर्वानुमान

९ पुष, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज पनि आंशिक बदलीको अवस्था रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्ने तथा तराईमा हुस्सु लाग्ने क्रम जारी छ ।

अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भू-भागको मौसम सफा रहेको छ । आगामी २४ घण्टाको मौसमी अनुमान अनुसार तराई तथा पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सचेत रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच महाशाखाले आज एक मौसमी बुलेटिन जारी गर्दै अबको तीन दिन देशभरको मौसम सफा रहने उल्लेख गरेको छ । पुस लागेसँगै चिसो ह्वात्तै बढेको थियो । मौसमी प्रणालीमा केही सुधार रहेकाले केही दिनदेखि तापक्रम बढ्न थालेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । आज अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

आज दिउँसो प्रदेश नम्बर १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा कुहिरो लाग्ने र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १ का पहाडी ठाउँहरुमा केहि बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहनेछ ।

[sidebar name="button post"]