सरोज कार्की
३ पुस, काठमाडौं । शुक्रबारदेखि सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हटाइएको छ। ‘कोभिड १९’ को कारण भिड नियन्त्रण गराउन लगाइएको जोर-बिजोर प्रणालीमा ट्राफिक प्रहरीले कडाइ गरेको थिएन। केहि चालकहरुले भने पालना गरिरहेका थिए।

आज शुक्रबारदेखि नियम हटेपछि काठमाडौं उपत्यकाभर नै सडकमा सवारी साधनको घुइचो बढेको छ। काठमाडौंमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएकाले सवारी साधन बढ्दै गएका थिए। आजको दिनबाट जोर-बिजोर प्रणाली हटाइएको कारण सडकमा सवारी साधन सामान्य अवस्थामा फर्किएका छन्।

जोरबिजोर प्रणालीमा सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम भएको थियो।















