Ad #144479

२६ मंसिर, जनकपुरधाम ।  यस बर्ष राम जानकी मन्दिरमा विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ । कोरोना भाइरसको कहरकाबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेपछि प्रभावित हुने भएको हो । यस पटक विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ ।

वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए । यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिने छ ।

मन्दिरका महन्थ दासका अनुसार यस पटकको विवा पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने बताए । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द गरिएको नेपाल–भारत सीमा अझै खोलिएको छैन । भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने गरिन्छ । जनकपुरधामस्थित जानकी मन्दिरमा यो पर्व उत्सवकै रुपमा मनाउने गरिन्छ ।

यस दिन भगवान रामको जन्मस्थल अयोध्याबाट प्रत्येक वर्ष जनकपुरमा जन्ती आउने गर्दछन् । जनकपुरधामलाई माता जानकीको माइती मानिन्छ । त्रेतायुगमा भगवान राम र सीताको विवाह भए अनुसारकै प्रकृया अपनाएर यहाँ विवाह पञ्चमी मनाउने गरिन्छ ।