पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप सार्वजनिक

२३ मंसिर, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप निर्माण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार उक्त एप भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।

एपमा विद्यार्थीको सिकाइ सहज बनाउने उद्देश्यसहित स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएका छन् । भौतिक कक्षा सञ्चालन नहुँदाको अवस्थामा यी सामग्रीको उपयोग गरी विद्यार्थीको सिकाइ प्रक्रिया निरन्तर राख्न मद्दत पुग्ने ठानिएको छ ।

कोभिड–१९ फैलिएयता देशभरि औपचारिक रूपमा भौतिक कक्षा हुन सकेको छैन । मन्त्रालयले गत जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो । परिमार्जित निर्देशिकाको आधारमा स्थानीय तहले अनुकुल परिस्थिति रहेका विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भौतिक कक्षा सुचारु नहुँदाको अवस्थामा एपमा समेटिएका सामग्री राम्रो आधार भएको बताए । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका अनुसार एपमा यसअघि निर्मित अनलाइन शैक्षिक सामग्रीहरू, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् ।

[sidebar name="button post"]