२० मंसिर, काठमाडौं। समलिंगी सौरभ तामाङ र सुरज क्षेत्रीले विवाह गरेका छन् । परिचय समाजको कार्यालय ललितपुर कुपण्डोलमा रहेको कार्यालय पुरोहितबाट सौरभ र सुरजले विवाह गरेका हुन् ।
यस्तो बिहे शुक्रबार ललितपुरको कुपण्डोलमा भएको हो । रामेछाप घर भई हाल काठमाडौं थानकोट बस्ने सौरभ तामाङ (बेहुला)ले झापाका सुरज खत्री (बेहुली)लाई सिन्दुर हालेर बिहे गरेका हुन् । सौरभले सिन्दुर मात्र हालेनन्, बिहेको जग्गेमा मंगलसुत्र पनि पहिर्याइदिएका छन् । जसरी बिहे मण्डपमा केटा र केटीबीच बिधिपूर्वक बिहे हुन्छ उनीहरुले पनि बिधि पुर्याएर बिहे गरेका हुन् ।
बेहुली सुरज मेकअप आर्टिष्ट हुन् भने बेहुला सौरभ पनि जागिरे छन्। दुई बर्ष अगाडि फेसबुक मार्फत पहिलो कुराकानी भएर विवाह गर्ने निष्कर्षमा पुगेको सौरभ र सुरजले बताए । पुरुषपुरुष (केटाकेटा) बीच वैवाहिक कार्यक्रम नै गरेर विनिताले छोराको सन्तुष्टीमा आफु खुशी रहेको बताइन । विवाहित जोडीले आफु जस्ता समलिंगी पुरुषलाई लुकेर नबस्न आग्रह गरे ।
समलिंगी विवाहको कानून बनेपछि विवाह दर्ता गर्ने तयारीमा रहेको विवाहति जोडीले बताए । सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको आदेश अनुसार बनेको समलिंगी विवाह अध्ययन समितिले ६ बर्ष अगाडि समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारले यस्तो विवाहलाई कानूनी मान्यता दिने सम्बन्धी कानून बनाएको छैन ।











