१७ मंसिर, काठमाण्डौ। राष्ट्रिय नागरिक आन्दोलनले शनिबार माइतीघरमा बृहत प्रदर्शन गर्ने भएको छ। राष्ट्रिय नागरिक आन्दोलन, २०७७ ले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर वर्तमान सरकार असफल भएको भन्दै यसको विकल्प खोजिने जनाएको छ।
अबको विकल्पको रुपमा नागरिक सरकार स्थापना, पञ्चायतकालदेखि हालसम्म सत्तामा बस्ने नेता र उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानबिन, युवा रोजगारी, शिक्षा र स्वास्थ्यमा लगाउन नागरिक आयोग गठन, निर्वाचन प्रणालीमा सुधार जस्ता माघ अघि सारिएको छ।
मुलुक बचाउन, नागरिकतन्त्रको रक्षा गर्न, र नागरिक स्वतन्त्रता एवम् नागरिकको जीवन रक्षा गर्न वर्तमान शासन व्यवस्था र सरकार असफल भएको हुँदा विकल्प खोज्नुपर्ने माग रहेको छ। त्यस्तै, २०७२ सालको संविधान खारेज गर्दै २०४७ सालको संविधान पुनस्थापित गर्नुपर्ने माग अभियानले अघि सारेको संयोजक बालकृष्ण न्यौपानेले बताउनु भयो ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, ११५ जनामा नबढ्ने संसद, सांसद मन्त्री बन्न नपाउने र सांसदले संसद विकास कोष लगायतका भत्ता तथा सुविधा लिन नपाउने व्यवस्थासहित सानो मन्त्रिमण्डलको व्यवस्था अभियान्ता सुरेन्द्र भण्डारीले बताउनुभयो । राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ ले नागरिकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने माग राखेको छ।
यस्तै अन्य मागहरुमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्ने, मुलुकले धान्न नसक्ने संघीयताको विकल्प खोज्नुपर्ने, धर्मसापेक्ष राज्य स्थापना गर्नुपर्ने, युवा पुस्तालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, बन्द रहेका सम्पूर्ण उद्योगहरु पुनः सञ्चालन गर्नुपर्ने, मुलुकले धान्न नसक्ने व्यापार घाटा अन्त्य गर्नुपर्ने, एमसीसी लगायतका सम्पूर्ण राष्ट्रघाती कदमको विरोध गरिने र असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने पनि रहेका छन्।
लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्ता लगायत मिचिएका सम्पूर्ण नेपाली भूभाग रक्षा गर्नुपर्ने र मौलिक मानव अधिकारको रक्षा गर्दै कोरोनाको निःशुल्क उपचार र कोरोना पीडितलाई राहत सुनिश्चित गर्नुपर्ने माग र नारा रहेका छन्।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोनालाई देखाउँदै जुलुस नगर्न भने पनि त्यसबाट कुनै असर नपर्ने आन्दोलनका संयोजक न्यौपानले बताए। त्यस्तै अभियान्ता मनोज कुमार झाले घरघरबाट आन्दोलनमा सहभागीता जनाउन आग्रह गरे। उनले भने, ‘यो आन्दोलनमा २०० भन्दा बढी संघसंस्था आबद्ध छन् र २० गते पछि यसलाइ अझ व्यापक बनाएर लग्नेछौँ।’












