१५ मंसिर, काठमाडौं । सोमबार मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुन लागेको हो ।
पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।
आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता झलनाथ खनालले इलामका सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गर्नेछन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नेछन् । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा बमोजिम सातवटै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल भवनको पनि शिलान्यास गर्नेछ ।
सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।
पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।
सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका अस्पताल बनाउने उल्लेख छ । तर सबै स्थानीय तहहरुमा १५ शय्याका अस्पताल बनाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।











