काठमाण्डौ उपत्यकामा एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घट्यो

१३ मंसिर, काठमाण्डौ। देशभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकामा एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घटेको छ ।

काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेकोमा आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियसमा झरेको छ । यो वर्ष जाडो सुरु भएयताकै काठमाण्डौमा कम तापक्रम हो । तापक्रम अझै घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोअस्ती राती बादल लाग्ने गरेकाले न्युनतम तापक्रम त्यति धेरै घटेको थिएन । तर आज राती बादल नलागेकाले चिसो बढेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

हिजो जुम्लाको न्युनतम तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको थियो । जोमसोमको २ दशमलव २, जिरीको ४ दशमलव ५, ओखलढुङगाको ९ दशमलव ५, ताप्लेजुङको ८ दशमलव ५, दिपायलको ६ दशमलव २ र पोखराको १० दशमलव ५ डिगी्र सेल्सियस मापन गरिएको थियो ।

अबको तीन दिन देशभरको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेर गएकाले अबको तीन दिन देशभर पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

[sidebar name="button post"]