सरोज कार्की
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
हरेक वर्ष ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशीका बेला काठमाण्डौको सितापाईलास्थित इचँगुनारायण बाक्लो भिड लाग्ने गर्दछ। इचँगुनारायण ४ प्रमुख नारायणहरु मध्ये एक मानिने मन्दिर हो। जहाँ बिष्णु भगवानले नारायणको रुपमा अवतार लिनु भएको थियो भन्ने भनाइ छ ।
चाँगु नारायण , विशंखु नारायण , शेष नारायण र इचँगु नारायण गरि ४ नारायणलाई उपत्यकाको प्रमुख नारायणहरु मानिन्छन् जसले उपत्यकालाई दानवहरुबाट रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ ।
यस बर्ष कोरोना महामारीका कारण त्यति भिड देखिएको छैन। विगतका वर्षहरुमा हरिबोधनी एकादशीका मेलाको बेलामा हामीले इचंगु नारायण मन्दिर जाने बाटोको बिचमा मन्दिर भ्रमण गर्ने मानिसहरु र छेउछाउमा बदम, खुवा, सखरखण्ड र चियाहरु बेच्न बस्ने मानिसहरु धेरै देख्न सक्थ्यौँ।
तर आज त्यहि बाटोमा मात्र एक बुढी आमा बदाम बेचेर बस्नु भएको छ। यस वर्ष कोरोना माहमारीका कारण मान्छे नै नआएको आमाले गुनासो गर्नु भयो। उहाँ भन्नु हुन्छ ,’पहिला को जस्तो ब्यापार छैन। ‘
यस पवित्र इचँगुनारायण मन्दिर स्वयम्भूबाट केवल ३ कि.मि उत्तरपश्चिम भागमा पर्दछ। यस इचँगुनारायणलाई उपत्यकाको पश्चिम दिशाको रक्षक र पश्चिमी स्वामीको नामले पनि चिनिन्छ । यस मन्दिर १२ औं शताब्दिमा बनेको मानिन्छ।
काठमाडौ उपत्यकामा अरु प्राचीन मन्दिरहरु मध्ये यस मन्दिरलाई पनि एक मानिन्छ तर पनि यस मन्दिरको कुनै चर्चा नभएको पाइन्छ । यसको निर्माणको बारेमा तोकिएको मिति नभएता पनि यस मन्दिरलाई नेवार समुदायले अति नै महत्वपूर्ण र प्राचीन सम्पदा मानेर आएका छन् ।













