९ मंसिर, काठमाडौं । कोरोना सम्बन्धिको उच्चस्तरीय समितिले सबै देशमा हवाई उडानको अनुमति दिने निर्णय गरेको छ । कोभिड —१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको हो । तर यो निर्णय मन्त्रिपरिषद बैठकबाट पारित हुन बाँकी छ ।
आज बसेको सिसिएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।
संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको हो । विभिन्न सरकारी कार्यालयहरूमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने बित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि सिसिएमसीले निर्देशन दिएको छ।
संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए। संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो। यद्यपी सिसिएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन। तर यी सिफारिसहरु मन्त्रिपरिषद बैठकबाट पारित नभएसम्म लागु हुदैनन् ।









