७ मंसिर, काठमाडाैं । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परिक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तरपुस्तिका पु¥याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्ने सहित सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।
बोर्डले केहि परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ भने नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ । परिक्षा स्थगित हुने हल्लामा नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो ।
उहाँका अनुसार विद्यार्थीको चाहना अनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ । कोरोना सङक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना सङक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुटै स्थानको व्यवस्था गरिएको छ ।
बोर्डले परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र कर्मचारीलाई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरणको काम पनि गरिसकेको छ । यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ । २० अंक भने स्कुल आफैले मूल्यांकन गरेर दिनेछ ।
परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् । कोरोना सङ्क्रमण कायमै रहेपनि भौतिक दूरी कायम गरी परिक्षा लिन लागिएको हो ।












