५ मंसिर, काठमाण्डौ। राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको संरक्षण गर्न सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बालअधिकारसम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फैसला र आयोगका सिफारिसको प्रभावकारी कार्यान्वयन गर्न तथा बालविवाह, बालश्रम, बाल यौन दुव्र्यवहारजस्ता बालहितविपरीत घटना निराकरण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।
कोभिड–१९ को महामारीका अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचसमेत बालबालिका वञ्चित हुन पुगेको उल्लेख गर्दै नेपालले बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गर्नाका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तरराष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
विभिन्न कारणले सामाजिक बहिष्करण, डर, त्रासलगायत कारण बलात्कार तथा यौन हिंसाबाट पीडित बालिका न्यायप्राप्तिको अधिकारबाट बञ्चित हुनुपरेको आयोगको अध्ययनका क्रममा देखिएको उल्लेख गरिएको छ ।
बालअधिकारको सम्मान, संरक्षण र संबद्र्धनका लागि संयुक्त राष्ट्र सङ्घद्वारा बालअधिकारसम्बन्धी महासन्धि, १९८९ जारी भएको आज ३१ वर्ष पूरा भएको छ । यस अवसरमा आयोगले सम्पूर्ण बालबालिकाप्रति शुभकामना व्यक्त गरेको छ ।












