समिता श्रेष्ठ
यसवर्ष सयपत्री र मखमली फूलको कारोबारमा ३६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष झण्डै २५ लाख मालाको कारोबार भएकोमा यसवर्ष १६ लाख मात्रै मालाको कारोबार भएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । यसवर्षको तिहारमा १३ लाख सयपत्री र ३ लाख मखमली गरी झण्डै १६ लाख मालाको कारोबार भएको तथ्याङ्क प्राप्त भएको एसोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।
आयात गर्नुपरेन : आन्तरिक उत्पादनबाटै परिपूर्ति
फूलैफूलको पर्व मानिने तिहारमा फूलको धेरै कारोबार हुने गर्छ । बिशेष गरी यमपञ्चकको पाँच दिनमा सयपत्री र भाइटीकाका लागि मखमली फूलको बढी कारोबार हुने गर्छ । तिहारमा सयपत्री फूलको प्रतिमाला ७० देखि १ सय २५ रुपैयाँसम्म र मखमलीको ५० देखि ८० रुपैयाँसम्म बजारमा कारोबार भएको छ ।
अध्यक्ष कसजुका अनुसार बिगत केहिवर्ष अघिसम्म तिहारमा फूलको आयात गर्नुपथ्र्यो तर यसवर्ष तिहारमा आवश्यक सयपत्री फूलको माला आन्तरिक उत्पादनबाटै परिपूर्ति भएको छ । मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । मखमली केहि मात्रामा निर्यात समेत हुने गरेको छ । यसबर्षको तिहारमा कोरोना कहरका बीच पनि झण्डै एक लाख पचास हजार मखमली फूलको माला विभिन्न मुलुकमा निर्यात भएकोे छ ।
कारोबार तथ्याङ्कमा
यसवर्ष आन्तरिक तर्फ ११ करोड ७० लाख रुपैयाँ बराबरको सयपत्री र एक करोड ८० लाख रुपैयाँको मखमलीको कारोबार भएको छ । त्यस्तै ४५ लाख रुपैयाँ बराबरको मखमली निर्यात भएको छ । सयपत्री र मखमली गरी १३ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको एसोसियसनले जनाएको छ ।
फूलको उत्पादन बिस्तार : यसवर्ष कोरोनाको असर
फ्लोरिकल्चर एसोसिएसन नेपालले आर्थिक वर्ष ०७१/०७२ देखि ०७४/७५ सम्म झण्डै चार बर्षसम्म नेपाल सरकार, कृषि बिकास मन्त्रालयसँगको सहकार्यमा सयपत्री फूलको उत्पादन बिस्तार तथा प्रबद्र्धनका कार्यक्रम संचालन गरेको थियो । यस कार्यक्रम मार्फत बिभिन्न जिल्लाहरुमा पुष्प खेती गरिरहेको पुष्प उद्यमी तथा कृषकहरुलाई छनौट गरी ६२ रोपनी भन्दा बढि क्षेत्रफलमा टनेल निर्माणमा सहयोग गरी व्यवसायीक सयपत्री फूलको उत्पादन बिस्तारमा सघाउ पु¥याएको थियो ।
यसले थप सयपत्री फूलको उत्पादन बिस्तार ग¥यो । फ्यानसँगको समन्वयमा पछिल्लो समयमा प्रदेश सरकार तथा स्थानिय सरकार तथा पुष्प बिकास केन्द्र मार्फत पनि सयपत्री फूल खेती बिस्तारका लागि केहि कार्यक्रमहरु संचालन भएका छन् । यसले पनि थप सघाउ त पु¥याएको छ तर अझै पनि उत्पादन प्रबिधीको बिकास, भण्डारण, ढुवानी तथा बजारीकरणको क्षेत्रमा व्यापक अध्ययन अनुसन्धान हुन नसकेको अध्यक्ष कसजुले बताउनुभयो ।
यस क्षेत्रमा सरकारी तवरबाटै अध्ययन अनुसन्धान गरी थप अनुदानका कार्यक्रमहरु अघि बढाउन आबश्यक रहेको उहाँको भनाई छ । यस बर्षको तिहारमा आबश्यक सयपत्री फूलको बजार मागलाई परिपूर्ति गर्न ३२ जिल्लामा व्यवसायीक रुपमा उत्पादन भएको थियो ।
यसवर्ष कोरोना महामारीले फूलको व्यवसाय विस्तारमा असर पारेको छ । तर कोरोना कहर तथा कृत्रिम आयातित फूलसँगको बजार प्रतिस्पर्धाकै बीच पनि नेपाली पुष्प व्यवसायीले उत्पादन गरेको सयपत्रीले बजार पाएको अध्यक्ष कसजुले बताउनुभयो ।









