Ad #144479

रमिला नेपाल

कोरोना महामारीकै बिच नौ महिना बित्यो । नेपालमा गएको चैतयता महामारी बढ्दै गएको हो । तर चीनको वुहानमा कोरोना भाइरस देखा परेको एक वर्ष बित्यो । नेपालमा कोरोना संक्रमण नियन्त्रण भन्दा पनि दिनप्रतिदिन बढ्दो छ ।

नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा संक्रमण बढेपछि शैक्षिक गतिविधि नै ठप्प भए । विद्यालय तथा कलेज बन्द भए । यसअघि तय गरिएका परिक्षा स्थगित भए । त्यसपछि विद्यार्थीले विद्यालय नटेकेको नौ महिना भैसकेको छ । यहि बेला सरकारले परिक्षा सहित शैक्षिक क्रियाकलाप अगाडि बढाउने निर्णय गरेको छ ।

कक्षा १२ को परिक्षा सुरु हुँदैछ । संक्रमण जोखिमकै बिच सरकारले परिक्षा सुरु गर्ने तयारी गरेपछि विद्यार्थी र अभिभावकले आ–आफ्नै तर्क र टिकाटिप्पणी गरेका छन् ।

विद्यार्थी सोध्छन्,‘तीन घण्टे मूल्याङ्कन बाहेक अरु बिकल्प हुँदैन र ?

कोरोना महामारीकै कारण परिक्षा स्थगित भएपछि विद्यार्थी तनावमा परे । विद्यार्थीमा आफ्नो भविष्यलाई लिएर मनोवैज्ञानिक असर समेत देखा पर्न थाल्यो । तर संक्रमण बढ्दै गएपछि सरकारले उपयुक्त विकल्प अगाडि सार्न सकेन । न त विकल्पहरु के कस्ता हुन सक्छन् भनेर पर्याप्त बहस र छलफल नै हुन सक्यो ।

सरकारले लकडाउन गरेपछि सबै घरभित्र सिमित भए । विद्यार्थीको भविष्यलाई लिएर खासै चासो र चिन्ता कहीँकतैबाट हुन सकेन । लकडाउन हट्यो । सरकारले स्थगित परिक्षाहरु अगाडि बढाउन थाल्यो । यहि बिचमा कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि सुरु हुँदैछ । कोरोना संक्रमित दिनहुँ बढ्दैछन् ।

यस्तो बेला विद्यार्थी, शिक्षक, अभिभावक सबैले जोखिम मोल्नुपर्नेछ । कतै संक्रमित एक विद्यार्थीबाट अरु शिक्षक र विद्यार्थी अथवा संक्रमित शिक्षकबाट अरु विद्यार्थी र शिक्षक तथा अभिभावक समेत संक्रमित हुने जोखिम उत्तिकै छ ।

जोखिमकै डरले कतिपय विद्यार्थी भन्छन्,‘हामीले परिक्षा दिनका लागि यो समय सही छ त ? उनीहरु सोध्छन्,‘तीन घण्टे मूल्याङ्कन बाहेक अरु बिकल्प हुँदैन र ?’ नेपालको सिकाई र मुल्याङ्कन प्रणाली व्यवहारीक नभएको टिकाटिप्पणी हुँदै आएका बेला अहिलेको परीक्षा र मुल्याङ्कन प्रणाली साँच्चै पुरानै शैलीको भएको झल्को दिएको छ । समय अनुकुल मुल्याङ्कन पद्धती अपनाउन नसक्दा परम्परागत शैलीमै फर्कनु परेको छ ।

डरैडर तर परिक्षाको कहर

कक्षा १२ मा पढ्ने विद्यार्थीहरू परिक्षाको तयारीमा लागिरहेका छन् । उनीहरुका अभिभावकलाई पनि कोरोनाको डर भने उत्तिकै छ । परिक्षा छोडे एक वर्ष त्यसै खेर जान्छ । आफ्ना छोराछोरीलाई कोरोना संक्रमण हुने पो होकी भनेर अभिभावकलाई पनि चिन्ता छ । ‘लामो समयपछि परिक्षा दिनुपर्ने अवस्था छ, गान्धी आदर्श विद्यालयका सुजन खड्का भन्नुहुन्छ,‘पहिलेको जसरी परिक्षा हुन्छ या हुँदैन थाहा छैन ।’ उहाँको प्रश्न छ,‘हामीलाई पनि सङक्रमण भयो भने जिम्मा कसले लिन्छ सरकार वा विद्यालय ?

त्यस्तै न्यू मिलिनियम कलेजका सुनिता तामाङ भन्नुहुन्छ,‘लामो समयको लकडाउनले पढेको पनि सबै बिर्सियो, अनलाइन क्लासपनि प्रभावकारी भएन । भएका केहि क्लास पनि राम्रोसँग नेटले काम नगरेर छुटे । अहिले परिक्षा आउँदा परिक्षाको तनाव भन्दा पनि कोरोना लाग्ने पो हो की भन्ने डर छ ।’

सान्त्वना कलेजमा अध्यनरत सपना भन्नुहुन्छ,‘परीक्षा दिन भनेर दाङबाट काठमाडौं आएँ, परिक्षामा सामेल हुन भर्ना कार्ड चाहिन्छ, सबै फी तिरेको हुनुपर्छ । म जागीर गरेर पढ्दै आएको थिएँ । अब जागीर छैन । कलेजको फी कसरी बुझाउने ? घरबेटीलाई पनि भाडा चाहियो कहाँबाट ल्याउने ? फी बुझाउन नसके परिक्षा छुट्ने डर छ ।

लकडाउन नभएको भए जागीर गरेरै भाडा तिर्थें, कलेज फी दिन्थें, सबै चिन्ताबाट मुक्त हुन्थेँ ,अहिले त परिक्षा साथै सबैतिरको तनाव छ ।’