२७ कार्तिक, काठमाडौं । चौतर्फी विरोध र दबाबपछि सरकारले कोरोना संक्रमित सबै बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । उपचारअघि परीक्षण पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेको छ ।
यसअघि सरकारले परीक्षणका लागि सरकारी अस्पतालमा कम्तीमा दुई हजार रुपैयाँसम्म लिने गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार हो ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर कात्तिक २४ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार अब निःशुल्क उपचार र परीक्षण गर्ने परिपत्र गरेको हो । मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।
अब सरकारी प्रयोगशालामा कोरोना संक्रमणको लक्षण वा चिह्न भएकाहरुको परीक्षण निःशुल्क हुनेछ । कोरोना परीक्षण र उपचार सेवा लिने व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।









