रमिला नेपाल
नेपालमा गएको माघमा कोरोना भाइरसका पहिलो संक्रमित भेटिए । त्यसपछि कोरोना संक्रमित हुनेहरु बढ्दै गए । अहिले कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । तिमध्ये झण्डै ८० प्रतिशत निको भएका छन् । निको हुनेको संख्या १ लाख ६० हजारभन्दा धेरै छ । कोरोना संक्रमणलाई जित्नेहरुको कथा भाेगाई र सिकाई : कथा काेराेना जित्नेकाे श्रृंखलामा प्रस्तुत गर्दैछौँ ।
आजको पहिलो श्रृखलामा हुनुहुन्छ बिकास श्रेष्ठ ।

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ८ मा बस्ने बिकास श्रेष्ठ ‘मासिक सय नेपाल’ संस्थामा कार्यरत हुनुहुन्छ । उहाँ संस्थाको सहसचिवका रुपमा काम गर्नुहुन्छ । गोकर्णेश्वर वडामा सबैभन्दा पहिले आफुलाई कोरोना पुष्टि भएको श्रेष्ठ बताउनुहुन्छ । उहाँले आफू संक्रमित भएको कुरा लुकाउनु भएन ।
संक्रमण भैसकेपछि वडाअध्यक्ष र नजिकमा रहेका साथीहरुलाई जानकारी गराएको श्रेष्ठ बताउनुहुन्छ । ‘कोरोना चेक गरेको चार दिनपछि रिपोर्ट पोजेटिभ आयो’श्रेष्ठ भन्नुहुन्छ,‘मलाई सामान्य ज्वरो र केही लक्षण मात्रै देखियो ।’
परिवारमा पनि संक्रमण
श्रेष्ठलाई मात्रै होइन उहाँको परिवारमा पनि कोरोना संक्रमण देखियो । ‘आफै संक्रमित भएको केहि दिनपछि श्रीमतिलाई पनि कोरोना संक्रमण देखियो’ उहाँ भन्नुहुन्छ,‘त्यसपछि हामी होम आइसोलेसनमा बस्यौँ ।’
होम आइसोलेसनमा बस्दा
१)सधैँ झैँ बिहानै फोनको घण्टी बज्थ्यो । फोनको तथा म्यासेज र सामाजिक संजालमा आवश्यक व्यवस्थापन र रेस्पोन्स गर्ने काम भयो ।
२) जिम्मेवारी लिएका कामको भर्चुअल सपोर्ट गरियो । जस्तै : एम्बुलेन्स, शव वाहनको व्यवस्थापनमा सहयोग । स्थानिय तहसँग विभिन्न छलफल, संक्रमित भर्ना, स्वाव संकलन तथा परिक्षणमा आवश्यक समन्वय ।
३) कोरोना व्यवस्थापनको जिम्मा लिएकै व्यक्ति संक्रमण हुँदा अरु साथिभाई अनुभव सुन्नलाई आतुर हुन्थे । उनिहरुसँग भलाकुसारी गर्थे । उनीहरुको चासो विशेषगरी कसरी संक्रमण भयो, कस्तो छ, लक्षण के के देखियो भनेर सोधिखोजी गर्नुहुन्थ्यो । यहि सोधिखोजी र आडभरोसाले मेरो समय बितेको पत्तै भएन । औषधि नै नभएकाले संक्रमणलाई जित्न मनोबल र हौसला नै मेरालाई बलियो हतियार बन्यो ।
सतर्क हौँ तर नआत्तिऔँ
कोरोना संक्रमण सकेसम्म नहोस् भनेर सतर्क हुनु नै सबैभन्दा राम्रो हो । तर सतर्क हुँदाहुँदै पनि कोरोना भैहालेमा आत्तिनु हुँदैन । मेरो अनुभवमा उच्च मनोबल नै आवश्यक छ ।
१) एकोहोरो र एक्लोपन नहुने खालका कृयाकलाप गरी आफुलाई व्यस्त बनाउन सकिन्छ ।
२) कोरोना भाइरसले जित्न सक्दैन, भाइरससँग लड्ने क्षमता छ भनेर ढुक्क रहनुपर्छ ।
३) म संक्रमित मात्रै हो, बिरामी होइन भन्ने सोंच बनाउनुपर्छ ।
४) कम्तिमा दिनमा चार पटक सन्तुलित खाना खाने । जस्तै ( दालभात, रोटी, हरियो सागपात, फलफूल, माछामासु इत्यादि मिलाएर )
५) सन्तुलित भोजनसँगै तातोपानी, कागती पानी, अदुवा, बेसार, अमला लगायतका जडिबुटी र घरायसी औषधिको सेवन गर्नुपर्छ ।
६) तातोपानीको वाफ र नुनपानीले बिहान बेलुका कुरुलकुरुल गर्नुपर्छ ।
७) कम्तिमा ८ घण्टा मज्जाले निदाउनुपर्छ ।
यसबाहेक पनि हलुका शारीरिक व्यायाम, योगा तथा मनोरञ्जन र खेलकुदका गतिविधि गर्न सकिन्छ, उहाँले भन्नुभयो,‘यसले मन हल्का बनाउने साथै रोग प्रतिरोधात्मक शक्ति बढाउने रहेछ । म आफुलाई उच्च मनोबल राख्ने र भरपुर ईच्छा शक्ति भएको रुपमा लिन्छु र अरुबाट नि त्यहीँ कुरा सुन्ने गर्छु ।
म जस्तै गरी अरु धेरै संक्रमण भएपछि खुलेर भन्नुहुन्न । तर कोरोना नै लागेपनि केहि हुँदैन । डेरामा बस्नेहरुलाई अझ गाह्रो पर्नसक्छ । आर्थिक रुपले पनि समस्या पर्नसक्छ । कोरोनालाई यो रुघाखोकी जस्तै सामान्य हो भनेर आत्मबल दरिलो बनाउनुपर्नेमा उहाँको जोड छ ।









