रमिता दंगाल
नेपाल आयल निगमले पोखराको गगन गौंडामा १० हजार किलोलिटर भण्डारण क्षमताकाे ट्याङ्की बनाउने भएकाे छ । पाँच पाँच हजार किलाेलिटर क्षमता भएका दुई ओटा ट्यांकी बिस्तार गर्ने निगमकाे तयारी छ । आपूर्ति मन्त्री लेखराज भट्टले डिपोकाे अबको दुई / तीन दिनमा उद्घाटन गर्नुहुने निगमले जनाएको छ।
अहिले भएको भण्डारण क्षमता २१ सयदेखि २२ सय किलोलिटर मात्र रहेको छ । अब त्यो दश हजार किलो लिटरमा परिणत हुने र डिपो स्थापनापछि भण्डारण क्षमता बढ्ने नेपाल आयल निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिनुभयो । डिपो झन्डै ७५ करोडको लागतमा बन्ने पनि उहाँले बताउनुभयो ।
निगमका प्रवक्ता उपाध्यायका अनुसार नेपालमा यातायात, विकास निर्माण, कल कारखाना आदिको क्षेत्रमा डिजेलको खपत धेरै छ। कुल पेट्रोलियम पदार्थको झण्डै ८० प्रतिशत डिजेलको खपत छ ।भण्डारण क्षमता बढेपछि यातायात बन्द हुँदा, तेलको अवराेध हुँदा पनि बिक्रि वितरणमा एकरुपता भैरहने छ । हाल नेपालभरी डिजेलको क्षमता जम्मा सात दिनलाई पुग्ने मात्रै भण्डारण क्षमता छ । त्यस्तै पेट्रोलको पाँच दिनलाई पुग्ने मात्रै भण्डारण क्षमता छ ।
दैनिक खपतको तुलना गर्दा अहिलेको समयदेखि नै निगमले भण्डारण क्षमता बढाउँदै नजाने हो भने भोलिका दिनमा बजार असन्तुलित हुने, पेट्रोलियम पदार्थको अभाव हुने जस्ता समस्या आउन सक्ने उहाँले बताउनुभयो । आम नागरिकलाइ इन्धनमा सहज होस् भन्ने हिसाबले भण्डारण क्षमता बढाउन लागिएको निगमका प्रवक्ता बिनितमणि उपाध्याय बताउनुभयो।
पाेखरामा डिपो संचालनमा आएपछि नेपालमा बिस दिन सम्मलाई खपत गर्न पुग्ने उहाँले बताउनुभयाे ।









