विदेशबाट फर्केर स्वदेशमै व्यवसाय सञ्चालन

कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम गर्न थालेका हुन् ।

गत चैत्रको दोस्रो साता भारतको नयाँदिल्लीबाट घर फर्कनुभएका दाङको राप्ती गाउँपालिका ­३ छोट्की सिसहनियाका खेमराज खड्काले अहिले गाउँमै कुखुरापालन व्यवसाय शुरु गर्नुभएको छ । नयाँदिल्लीमा रहँदा होटेलको कुकको काम गरेका खड्काले स्थानीय एग्रोभेटको प्राविधिक सहयोगमा कुखुरा पाल्न थाल्नुभएको हो ।

लमही नगरपालिका ७ का अनिल चौधरीले कतारबाट फर्केर अहिले घर निर्माणको काम गरी रहनुभएको छ । उहाँले कतारमा रहँदा पनि निर्माण मजदूरको काम गरेकाले लमही बजारमा कामको लागि जाने गरेको बताउनुहुन्छ । “खाली बस्दा साँझ विहान के खाने भन्ने चिन्ता हुन लाग्यो, आफूले गर्न सक्ने श्रमको काम गरेको छु” अनिलले भन्नुभयो ।

देउखुरीकै सूर्यनारायण चौधरीले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । कतारको सुपरमार्केटमा काम गर्ने चौधरी नेपाल सरकारले गरेको उद्दार उडानमार्फत नेपाल आउनुभएको हो । चौधरीले अहिले १० वटा बाख्रा किनेर व्यवसाय शुरु गरेको बताउनुभयो । छ वर्ष विदेश बसे पनि घरमै बसेर व्यवसाय गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

विदेशबाट घर फर्किएका जिल्लाका अन्य युवाहरुले पनि तरकारी खेती, पशुपालन, कुखुरापालन माछापालन, माहुरीपालन, व्यापार तथा ससना घरेलु उद्योग शुरु गरेको पाइएको छ । गाउँघरमै रहेर काम गर्नका लागि घरपरिवारको सहयोग र समूहबाट रकमको जोहो गरेर व्यवसाय सञ्चालन गरेको उनीहरुको भनाइ छ ।

विदेशबाट फर्केर व्यवसाय गरेका १३० जनालाई राप्ती गाउँपालिकाले व्यवस्थापन तथा प्रोत्साहनबापत अनुदान दिएको छ ।

[sidebar name="button post"]