२० भदौ, काठमाडौं। भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ चितवनको भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो ।
अहिले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइउन सुरु गरिएको अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले बताउनुभयो । “कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै रिपोर्ट पठाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “पोजेटिभ र नेगेटिभ दुवै रिपोर्ट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछौँ ।”
उहाँका अनुसार फेसबुकमार्फत पनि रिपोर्ट थाहा पाउन सकिने छ । फेसबुकभन्दा पहिले नै मोबाइलमा रिपोर्ट उपलब्ध गराइने उहाँले बताउनुभयो । अहिलेसम्म रिपोर्ट पोजिटिभ आएका सङ्क्रमितलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकालाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो । कतिपय व्यक्ति रिपोर्टबारे जानकारी लिन प्रयोगशालामा नै पुग्ने गरेका थिए ।









