Ad #144479

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेशकुमार भट्टराईले काठमाडौँ उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो ।

उहाँले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिँदै नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगाली र स्पेनी भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गर्नुभयो ।

पर्यटनमन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययिता कायम गर्न र विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिनुभयो ।

मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण प्रतिवेदन तथा पर्यटकीय क्षेत्रका वृत्तचित्रलगायत सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै कोरोनाका कारण पर्यटन व्यवसायी, पर्यटन मजदूरलगायतमा देखिएका समस्या तथा पलायन रोक्नका लागि मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिनुभयो ।

उहाँले विभिन्न देशमा रहेका पर्यटन डेस्कलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका सङ्घसंस्थासँग सञ्जाल विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले कोभिड– १९ महामारी अन्त्यपछि पर्यटन उत्थानका योजना बनाउनसमेत आग्रह गर्नुभयो ।