प्रदेश नं ५ मा ६ हजार कोरोना भाइरस सङ्क्रमित

प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या ६ हजार एक सय एक पुगेको छ । ६ हजार मध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

सूचना अधिकारी पौडेलकाअनुसार सङ्क्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टिनमै बसेका छन् ।

अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

[sidebar name="button post"]