रमिता दंगाल
कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमण जोखिमका कारण लकडाउन र निषेधाज्ञाले ६ महिना बितेको छ । कोरोनाको मारमा ठप्प भएका पेशा व्यवसाय ६ महिनादेखि खुल्न सकेका छैनन् ।
सरकारले लकडाउन खोलेको एक महिनापछि फेरी निषेधाज्ञा गरेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिनेको हो टुङगो छैन । व्यापार व्यवसाय, उद्योग धन्दा खुल्न पाएका छैनन् । पेशा व्यवसाय ठप्पै भएको व्यवसायीको गुनासो छ ।
त्यसैमध्येका एक हुनुहुन्छ, काठमाडौं महानगरपालिका वडा नम्बर २० मा रहेको कालिका ब्याग उद्योग सञ्चालन गर्ने बमबहादुर थापा मगर । उहाँको ब्याग उद्योग ६ महिनादेखि बन्द छ ।
विगतमा दैनिक रुपमा निकै राम्रोसँग चलिरहेको उद्योग लकडाउनपछि भने पूर्ण रुपमा बन्द रहेको उद्योग संचालक थापा मगर बताउनुहुन्छ ।
कर्मचारी बोलाउन पनि सकिएन
कोभिड १९ संक्रमण जोखिमका कारण सरकारले धेरै जमघट तथा भिडभाड हुने व्यवसायहरु बन्द गर्न निर्देशन दिएको छ । उद्योग ६ महिनादेखि बन्द रहेकाले मासिक पचास हजार रुपैयाँ भाडा तिर्न समस्या परेको र लकडाउनमा १५÷२० लाखको घाटा भएको उहाँको गुनासो छ ।
थापा मगरले सञ्चालन गरेको ब्याग उद्योगबाट दस देखि पन्ध्र जना कर्मचारीहरुले रोजगारी गर्दै आएका छन् । काम गर्ने कर्मचारी मध्ये कसैलाई ब्याग बनाएको पिसको हिसाबले र कसैलाई महिनावारी हिसावले तलब दिने गरेको थापा मगरले बताउनुभयो ।
लकडाउनपछि गाउँ गएका कर्मचारीहरुलाई कोरोना जोखिम कामयै रहेका कारण तत्काल बोलाउने अवस्था नै नरहेको उहाँको भनाई छ । थापा मगर भन्नुहुन्छ,‘ब्याग बनाउनका लागि फित्ता, रनर, जिप्पर, पिफम, धागो आदि कच्चा पदार्थ प्रयोगमा आउने गर्दछ । ती आवश्यक कच्चा पदार्थ चीनबाट आउने गर्दछ । तर अहिले कच्चापदार्थ पनि समस्या छ ।’
घरमै बसेर दिन काट्नुपरेको गुनासो
कालिका ब्याग उद्योगले नेपालभरी नै ब्याग वितरण गर्दै आएको छ । व्यवसायी थापा मगरको चार जनाको परिवार छ । कोरोना संक्रमण दिनदिनै बढ्दै गएका कारण विगत चैत महिनादेखि बन्द रहेको उद्योग पूर्ण रुपमा बन्द नै रहेकाले परिवार चलाउन नै धौ धौ परेको उहाँको गुनासो छ ।
विगतका दिनहरुमा परिवार खर्च राम्रैसँग चलेको थियो, उहाँले भन्नुभयो,‘उद्योगबाट वार्षिक पाँच÷छ लाख आम्दानी हुने गरेको थियो तर यसपाली आम्दानी छैन, उद्योग नै खोल्न नपाएपछि घरमै बसेर दिन कटाइरहेको छु । भोलीका दिनमा खर्च कसरी धान्ने चिन्ता बढ्दो छ ।’









